देश

त्रिभुवन विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन : उपकुलपति बास्कोटा


काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा तनावका बीच प्रशासनले पत्रकार सम्मेलन गरेको छ । उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा हरि आचार्य नेतृत्वको नेविसंघका सचिव योगेन्द्र रावलको नेतृत्वमा गएको समूहले विथोल्ने प्रयास गरेको थियो । त्यसपछि पत्रकार सम्मेलनमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सुरक्षा दिएको थियो ।

सम्मेलनमा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताए । ‘विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी तालाबन्दी भइसक्यो उनले भने, ‘विश्वविद्यालयमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो प्राप्त भइरहेको छ, विभिन्न निकायमा शिक्षक, कर्मचारी कुटिएका छन् ।

यस्तो अवस्थामा शिक्षक कर्मचारीमा एक किसिमको त्रास रहेको बताउँदै बाँस्कोटाले काम गर्ने वातावरण नभएको जनाएका हुन् । यस्तो परिस्थितिमा स्वतः विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरु समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ’ बाँस्कोटाले भने, जसले विद्यार्थीहरु विदेशिने क्रम बढिरहेको छ । बाँस्कोटाले विश्वविद्यालयमा नेविसंघको एउटा समूह निरन्तर तालबन्दी, धम्की र तोडफोडमा संलग्न रहेका बताए । उनले हरि आचार्य नेतृत्वको समूहलाई लक्षित गर्दै उनीहरु संलग्न श्रृंखलाबद्ध गतिविधिको फेहरिस्त नै प्रस्तुत गरे ।

उनका अनुसार यो समूहले उपकुलपति कार्यकक्षमा तोडफोड गरेर टेबुल लडाउने काम गरेको छ, उपकुलपतिको कार्यकक्षमै ब्यानर टाँगेको छ उपकुलपतिको कुर्सी जलाउने, कार्यालय र ग्लोबल बैंकमा तोडफोड गर्ने, तालबन्दी खोल्नुपर्छ भन्दा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने जस्ता काम गरेको छ’ उनी भन्छन्, ‘यो समूहले ७ माघदेखि लगातार ५ महिनाभन्दा बढी समय तालाबन्दी गरेको छ ।

यही समूहका कारण त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेर प्राध्यापकहरुको पदोन्नति रोकेको पनि उनले बताए । बाँस्कोटाले भने, ‘सेवा आयोगका पदाधिकारीहरुलाई पनि विभिन्न समयमा धाकधम्की दिइएको छ ।’ कार्यकारी परिषद्को माइन्युट लगायत महत्वपूर्ण कागजात पनि यो समूहले लुटेको उनको भनाइ छ ।