Breaking

ओली प्रधानमन्त्रीको उम्मेदवार, गठबन्धनको घेराबन्दी तोडेर झण्डा गाड्ने तयारी, दामशाही टिकट वितरण


काठमाडौँ — आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । तर गठबन्धन विरुद्ध निर्वाचनमा होमिएको एमालेका लागि चुनाव जित्ने विषय नै सकसपूर्ण छ । वितेको एकबर्षमै नेकपा एमालेसँग न सरकार बाँकी रह्यो, न पार्टी सग्लो रह्यो । आन्तरिक तनावकै कारण बहुमत र सरकार गुमाउन पुगेपछि अध्यक्ष केपी शर्मा ओलीको आवेग अझै शान्त भएको छैन ।

फलतः ओली आगामी मंसिर ४ पछि त्यही विरासत र त्यही दलबल फर्काउन चाहन्छन् । तर एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धन अझै विस्तारित गएपछि ओली हायलकायल छन् । चौतर्फी घेराबन्दी तोडेर विजयीको झण्डा गाड्ने अवसर अब एमालेका लागि निकै दूर्लभ बनेको छ । यही दूर्लभताकै बीच एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ ।

ओलीकै कारण पार्टी फुट्यो, ओलीकै कार्यशैलीले सरकार गुम्यो । तर ओलीलाई देखाएरमात्रै निर्वाचन जित्न सकिन्छ भन्ने मानसिकता हाबी भएपछि केन्द्रीय कमिटी बैठकले उनैलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको हो । यसलाई चुनाव जित्ने एक बलियो रणनीतिका रुपमा हेरिएको छ ।त्यसबाहेक गठबन्धनविरुद्ध निर्वाचन जित्ने नीति भनेकै एमालेका लागि भए पनि गठबन्धन भत्किनु हो । जुन अव सम्भव छैन भन्ने निष्कर्षमा स्वयम् ओली ढुक्क बनेका छन् ।

त्यसैले एक्लै निर्वाचनमा जाने र कार्यकर्ताकै बलमा जित्ने एमालेको तयारी छ ।यसकै लागि शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवारका लागि मापदण्ड सार्वजनिक गर्दै दामशाही ढंगबाट टिकट वितरण गर्ने निर्णय गरेको छ । मतलव समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्रयोग गरेकालाई नदोहो¥याउने एमालेको तयारीको छ । सँगै पार्टीले वाम गठबन्धनको आह्वानसमेत गरेको छ ।

सत्तारुढ गठबन्धनको तालमेलपछि निकै अप्ठ्यारोमा परेको एमालेलाई एक्लै मैदानमा उत्रेर चुनाव जित्न सजिलो छैन् । गठबन्धनको आह्वान गरेपनिएमालेसँग सहकार्य गर्न दल नै बाँकी छैनन् । साना दलहरुलाई बोकेर जाँदा अर्थ भन्दा धेरै ब्यर्थ देखिन्छ ।निर्वाचनअघि नै वाम एकता र तालमेलको सम्भावना पनि हराउँदै गएको छ ।यस्तो बेला उम्मेदवार छनोटमा स्थानीय तहकै जस्तो कमजोरी भए एमाले गठबन्धनको चाहनाजस्तै पत्तासाप नहोला भन्न सकिँदैन ।