गगन थापा र विश्वप्रकाश शर्मा एकै पटक पार्टीको महामन्त्रीमा निर्वाचित भएपछि महत्वाकांक्षा बढ्ने मात्र होइन, प्रतिस्पर्धी र इश्र्याभावमा रहने आकलन सबैको थियो । तर प्रतिस्पर्धा र संघर्षभन्दा उनीहरुमा सहकार्य बढी देखियो । तथापी सभापति देउवाले उनीहरुलाई नसुन्नेमात्रै होइन विधि नै मिचेर हिडेपनि हस्तक्षेपकारी बन्न सकेनन । आगामी निर्वाचनमार्फत धेरै युवाहरु संसदीय निर्वाचन लड्ने तयारीमा छन् । तर टिकट दिलाउन गगन–विश्वप्रकाशले खेल्ने भूमिकामाथि शंका उत्पन्न भएको छ ।
नेपाली काँग्रेसको भविष्य झट्ट रोकिएर हेर्दा, गगन थापा र विश्वप्रकाश शर्मामा अडिएको देखिन्छ । पार्टीको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चाबाट लडेका गगनले अत्यधिक मत ल्याएर जिते । संस्थापन पक्षमै क्रियाशिल रहेपनि सभापति देउवाले टिकटमा नपत्याएपछि प्रकाशमान सिंहतिर फर्किएर पनि आफ्नै व्यक्तित्वको आकर्षणबाट विश्वप्रकाशले पनि चुनाव जिते । हिजो नेतृत्वलाई प्रश्न गर्ने उनीहरु आज आफै जवाफ दिने ठाउँमा छन् । आगामी पाँच बर्ष उनीहरुको अग्निपरिक्षा हुनेछन । धेरै युवाको आशा र भरोशापनि उनीहरुमै अडिएको छ । मुलतः काँग्रेस बोक्ने काँधका रुपमा गगन–विश्वलाई हेरिएको छ । तर नेतृत्वमा पुगिसकेपछि खरो बन्नुपर्ने उनीहरु लतरो जस्तो देखिएपछि युवाहरुले उनीहरुको नियतमाथि शंका गर्न थालेका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा उपसभापतिदेखि दुवै महामन्त्री र केन्द्रीय सदस्यसम्म अधिकांश युवाले चुनाव जितेका छन् । अब आगामी निर्वाचनमा टिकट दिलाएर उनीहरुलाई संसद छिराउने दायित्व पनि गगन–विश्वप्रकाशकै काँधमा परेको छ । किनकि टिकट वितरणका लागि बन्ने संसदीय समितिमा उनीहरुकै हात लामो रहनेछ । यस्तो अवस्थामा पार्टीभित्रको युवापंक्तिले उनीहरुकै आश गर्नु स्वभाविक पनि हो । तर सभापति देउवाकै गुणगान गाएर आफुलाई सुरक्षित गर्ने र अन्य युवालाई बेवास्ता गर्दै जाने सम्भावना बढेपछि उनीहरुको नियतमाथि शंका गर्न थालिएको हो । यदि आफ्नै दूनो सोझ्याएर टिकटमा बेवास्ता गरिए उनीहरुकै राजनीतिमा चुनौती थपिने नेताहरु बताउँछन् ।
सभापति देउवा त यसैपनि युवालाई स्पेश दिने पक्षमा छैनन् । यस्तो बेला पार्टीभित्रमात्रै होइन, बाहिरपनि आश गरिएका गगन–विश्वप्रकाश नै युवाका लागि नेता हुन् । यही निर्वाचनमार्फत गगन प्रधानमन्त्रीको एजेन्डा बोकेर निर्वाचनमा जाँदैछन् । हेर्दा महात्वाकांक्षी देखिएपनि गगनको यो तयारीले पार्टीको युवापंक्तिमा आडभरोशा थपेको छ । दुईपटक निर्वाचन हारेका विश्वप्रकाशलाई पहिला गठबन्धनबाट आफ्नै निर्वाचन क्षेत्रको टिकट सुरक्षित गर्नुपर्नेछ ।
किनकि पाँच दलबाट भागबण्डा गरेर पाउने संख्या नै काँग्रेसका लागि थोरै छ । सय सिट दाबी गरिएपनि अन्य दल त्यसमा सहमत छैनन् । यस्तो बेला शीर्ष नेतालाई कति युवालाई कति ?कुनै एकिन छैन । पार्टीभित्र हस्तक्षेपकारी भूमिका बढाउन पनि युवालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा उनीहरु छन् । तर सभापति देउवाले उनीहरुलाई नसुन्नेमात्रै होइन विधि नै मिचेर हिडेपनि हस्तक्षेपकारी बन्न सकिरहेका छैनन् । फलतः आगामी निर्वाचनमा युवालाई टिकट दिलाउनुपर्ने उनीहरुको भूमिकामै युवा नेताहरुले प्रश्न उठाइरहेका छन् ।


प्रतिक्रिया