समाचार

गहुँ र चिनी प्रतिवन्धका बारेमा सरकारसँग कुरा भएको छ : राजदुत श्रीवास्तव


काठमाडोैँ —नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताउनुभएको छ । शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदुत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको बताउनु भयो । उहाँले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताउनु भयो ।

राजदुत क्वात्राले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको दाबी गर्नुभयो । उहाँले पुल निर्माण कार्य चाँडै सकिने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ । हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ । राजदुत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको बताउनु भयो ।