काठमाडौँ — मंसिर ४ मा हुने प्रदेश र संघीय संसदको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेको सत्तारुढ गठबन्धनबीच भागबण्डा पेचिलो बन्दै गएको छ। सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन गरेको ११ सदस्यीय कार्यदल पटक–पटक बैठकमा बसे पनि ठोस सहमति जुट्न सकेको छैन।
प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमै पाँच दलको तानातान चलिरहेको छ। अहिले यी दलहरू गृहकार्यमा छन्। पाँचै दलका शीर्ष नेतृत्वबाहेक अन्य नेताहरू सम्मानजनक सिट बाँडफाँट नभए क्षति व्यहोर्नुपर्ने बताइरहेका छन्। दलहरुबीच सिट बाँडफाँटका क्रममा धेरै जिल्लामा सकस देखिएको छ। गठबन्धनलाई यसरी संकटमा पार्नेमध्ये एक हो प्युठान जिल्ला। प्युठान नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला हो।
मसालको खुला राजनीतिक मोर्चा राष्ट्रिय जनमोर्चा केही विषयमा बिमत्ति राख्दै पाँच दलीय गठबन्धनमा छ। महामन्त्री सिंह पत्नी एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल वाम गठबन्धनबाट २०७४ मा प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन्। उनी अहिले पनि प्युठानबाटै प्रतिनिधिसभा सदस्यका लागि दाबी गरिरहेकी छन्।
एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। गोविन्द पोखरेलले पनि प्रतिनिधिसभामा उठ्ने आकांक्षा राखेका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए। उक्त निर्वाचनमा उनी पौडेलसँग १६ हजार २२८ मतान्तरले पराजित भए। ४१ हजार ५१४ मतसहित जनमोर्चाकी उपाध्यक्ष पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत प्राप्त गरेका थिए। उनी आसन्न निर्वाचनमा टिकट दिए पार्टी संगठन र सदस्यभन्दा १० हजार बढी मत ल्याउन सक्ने दाबी गर्छन्।


प्रतिक्रिया