काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादको मुद्धामा जहिल्यै अग्रभागमा आउँछन् । ओलीले विगतमा राष्ट्रवादकै मुद्धा बोकेर निर्वाचन जितेका थिए । अब पाँच महिनापछि पुनः निर्वाचन हुँदैछ, ओलीलाई राष्ट्रवाद प्यारो लाग्न थालेको छ । नेपाली राजनीति अचम्मको छ – नेताले बोलेको कहिल्यै पुष्टि गर्नुपर्दैन। बोलेअनुसारको काम पनि गर्नुपर्दैन । नेताहरु बोल्दै जान्छन्, सपना बाँड्दै जान्छन् । जनता पत्याउँदै जान्छन्, विर्सिहाल्छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादकै मुद्धा उठाएर गत निर्वाचन जितेका थिए । नाकाबन्दीको सशक्त विरोध गर्दा ओलीको राष्ट्रवाद ताजै थियो । सरकारमा आएपछि नक्सामा चुच्चो फर्काएको विषयले ओलीको राष्ट्रवादी हाइट निकै बढ्यो । तर रातारात ‘रअ’का प्रमुखलाई बालुवाटार भित्र्याएकोदेखि पाठ्यक्रममा चुच्चे नक्सा छाप्न रोक लगाएको विषयले ओलीलाई हानी पु¥याएको छ । फेरि निर्वाचन आउँदैछ, कालापानी, लिपुलेक, लिम्पीयाधूरार नागरिकता विधेयकमा ओली राष्ट्रवादी बन्न खोजिरहेका छन् ।
सरकारबाट बाहिरीएपछि संसदको रोस्टममा उभिएर बोलेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘कालापानी नेपालकै हो भनेर बोल्नुसक्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । त्यसयता विर्सिएको ओलीले फेरि चुनावका मुखमा त्यही विषय उठाएका हुन् । एकहिसावले एमाले अहिले एजेन्डाविहिन छ । गठबन्धनविरुद्धका सबै विकल्प सकिएपछि चौतर्फी घेराबन्दीमा परेका उनी पछिल्लो समय एक्लै निर्वाचनमा जुनपर्ने निष्कर्षसहित राष्ट्रवादी मुद्धामा फर्किएका हुन् । तर यसमा गठबन्धन राष्ट्रघाती भएकै कारण ओली राष्ट्रवादी बन्नु परेको एमाले नेताहरुको भनाइ छ।
लामो समयसम्म गठबन्धन तोड्ने मुद्धामा अडिग रहेका ओली अब गठबन्धन नफुट्ने निष्कर्षमा परिपक्क छन् । विदेशी भूमि र प्रतिनिधिकै रहोबरमा निर्वाचनपछि हुने नेपालको सत्ता साझेदारीबारे सत्ता गठबन्धनले अहिले नै छलफल गरिसकेको उनको गम्भीर दाबीसमेत सार्वजनिक भएको छ । एमालेको केन्द्रीय कमिटी बैठकमा शुक्रबार पेस गरेको राजनीतिक प्रतिवेदनमै उनले यो कुरा उल्लेख गरेका छन् ।
स्थानीय चुनावमा सर्वाधिक मत पाएको एमालेकै डरले पाँच दलले एक्लै लड्न डराएर नयाँ दलहरुलाई गठबन्धनमा थप्न खोजेको दाबी समेत ओलीको छ ।बहुमतका लागि १६ प्रतिशत मत मात्र अपुग रहेको भन्दै ओलीले चुनावी जितका लागि पार्टी प्रवेशलाई मुख्य अस्त्रका रुपमा अघि सारेका छन् ।
सरकार गठन हुनुभन्दा अगाडि नै गठबन्धनका नेताहरुले बाह्य शक्तिहरुको ‘कम्फर्टेबल’ हुने सरकार गठनका लागि सहयोग मागेको विषयलाई समेत ओलीले चुनावी मुद्धा बनाएका छन् । तर उनकै पार्टीभित्रको व्यवस्थापन मुख्य चुनौती मानिएको छ । राष्ट्रवादको मुद्धामा ओली यसै बद्नाम छन् । कुनैबेलाका राष्ट्रवादी नेता लम्पसारवादी बनेका छन् ।मुलतः राष्ट्रवादकै मुद्धा चल्ने र बिक्ने पनि भएकाले ओलीले फेरि पनि यसैलाई चुनावी एजेन्डा बनाउनु नौलो ठानिएको छैन ।


प्रतिक्रिया