Breaking

सुरु भयो कांग्रेसको चुनावी अभियान, अभियानले जनताको भ्रम चिर्ने विश्वास


काठमाडौँ — निर्वाचनको मिति तय भएसँगै कांग्रेसले चुनाव लक्षित अभियानको सुरुवात गरेको छ । १४ दिनसम्म चल्ने अभियानमा आफ्ना कार्यकर्तालाई एमसीसी विरुद्धको भ्रम चिर्न र पार्टीसहित गठबन्धनलाई विजयी गराउन प्रशिक्षण दिइनेछ । जब जब चुनाव आउँछ, तव राजनीतिक दललाई जनता चाहिन्छ । जनता समस्यामा परेको बेला वा दुखमा परेको बेला राजनीतिक पार्टी र नेताले वास्तै नगर्ने परिपार्टीबाट नेपाली राजनीति गुज्रदै आएको छ ।

चुनावको मिति घोषणा भएसँगै राजनीतिक दलहरुको चुनाव लक्षित कार्यक्रम पनि बढ्दै गएको छ ।सरकारको नेतृत्व गरिरहेको नेपाली कंग्रेसले मंसिर ४ गतेका लागि तय भएको संघीय चुनाव लक्षित अभियानको सुरुवात गरेको छ । संसद र प्रदेशको निर्वाचनमा माहोल बनाउन र एमसीसी लगायतका विषयको भ्रम चिर्न सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियानको शुभारम्भ गरेको हो । शुक्रबारबाट दुई साता चल्ने यो अभियानले कार्यकर्ताको बीचमा गएर आफ्नो पार्टीसहित गठबन्धनलाई विजयी गराउन प्रशिक्षण थाल्ने छ ।

कम्युनिष्टहरु फुटेको अवस्थामा जनतालाई आफूतिर आकर्षित गर्ने मौका कांग्रेससँग छ । सात वटै प्रदेश र केन्द्रमा पनि सरकार बनाउने उद्देश्य राखेको कांग्रेसले अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।
अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

नेता कार्यकर्तालाई उर्जाशील र चलयमान बनाउन अभियानले भूमिका खेल्ने विश्वास कांग्रेसले लिएको छ । स्थानीय निर्वाचनमा घर घर जाऔं कांग्रेस जिताऔं भन्ने अभियान सफल भएको कांग्रेसको विश्लेषण छ । त्यही विश्लेषण अनुसार कांग्रेसले संघीय चुनावमा पनि त्यस्तै अभियान सुरु गरेको हो । पार्टीभित्र नै विभिन्न अन्तरर्विरोध र गठबन्धनमा टिकटको नै अन्यौलता रहँदारहदै पनि कांग्रेसको अभियानले कतिको सफलता पाउला हेर्न भने मंसीर ४ पछिको चुनावपछिको नतीजा नै पर्खनु पर्ने हुन्छ ।