Breaking

पाकिस्तानमा वर्षा र बाढीले ९ सय जनाको मृत्यु


काठमाडौँ – पाकिस्तानमा बाढी र वर्षाका कारण अहिलेसम्म ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै ३० लाखभन्दा बढी मानिस कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन् ।

बीबीसी उर्दूको समाचारअनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन् । एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ ।

यस्तै खैबरका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन् । जनसंख्याका हिसाबले पाकिस्तानको सिन्ध प्रान्त बाढी र वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानिस प्रभावित भएको जनाइएको छ ।

यद्यपि यो केन्द्रको तथ्यांक हो, राज्य सरकारले सिन्ध प्रान्तमा वर्षा र बाढीबाट प्रभावितको संख्या अधिक रहेको बताएको छ । एनडीएमए प्रतिवेदनअनुसार बाढी र वर्षाका कारण ७ लाख ८ हजारभन्दा बढी पशुपक्षी मरेका छन् । यसबाहेक धेरै ठाउँमा सडक पनि बगेको छ ।