काठमाडौँ — अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् लाई पाँच दिनको जेल सजाय सुनाइएको छ । मदिरा सेवन गरी गाडी चलाउँदा दुर्घटना गराएको आरोपमा दोषी ठहर गर्दै पल पेलोसीलाई पाँच दिनको जेल सजाय सुनाइएको हो । उनले पनि आफूले मदिरा सेवन गरी गाडी चलाएको स्वीकार गरेका छन् ।
तर ८२ वर्षीय पलले जेलमा भने बस्नु नपर्ने बीबीसीले जनाएको छ । दुर्घटनाकै दिन गत मे २८ मा उनी जेल बसेका थिए। त्यसलाई अदालतले दुई दिन मानेको छ। अरु दुई दिनको सजाय उनको राम्रो व्यवहारका कारण माफी दिइएको अदालतले जनाएको छ । बाँकी एक दिनको जेल सजाय बराबर उनले आठ घण्टा समाज सेवा गर्नुपर्ने समाचारमा उल्लेख छ ।
यो सजायपछि उनको सवारी चालक अनुमपतिपत्र पनि नखोसिने बताइएको छ । पलले चलाएको गाडि क्यालिफोर्नियाको ओकविलेमा रातको समयमा रोकिराखेको अर्को गाडीमा ठोक्किएर दुर्घटना भएको थियो ।


प्रतिक्रिया