Breaking

निलम्बित प्रधानन्यायाधीशविरुद्ध महाभियोग सिफारिस समितिको बैठक बस्दै


काठमाडौँ – महाभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

मंगलबार बसेको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो ।

प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो । बैठकमा हिजो प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावित कार्यतालिकाको समय छोट्याएर​ भदौ २५ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने धारणा राखेको थियो । यो विषयमा बुधबार थप छलफल हुनेछ ।

२०७८ फागुन १ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगउपर अध्ययन गर्न २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो ।