काठमाडौँ — गठबन्धनले आफ्नो आकार बढाएर जाने गृहकार्य चलाइरहेका बेला एमालेसँग तालमेल गर्ने दल पनि छैनन् । यस्तो अवस्थामा सम्भावित परिणामलाई लिएर एमालेभित्र चर्चा हुन थालेको छ । संसदीय निर्वाचन मुखैमा छ, गठबन्धन बढ्दो चुनावी सञ्जालले आच्छुआच्छु बनेको छ । ठिक यसैबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रदेश इञ्चार्जहरुले ठूलै डर देखाउने काम गरेका छन् ।
मंगलबारको पार्टी स्थायी समिति बैठकमास्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था र गठबन्धनको चुनौती बारे विफ्रीङ गर्ने कार्यसूची थियो । जसमा पार्टीका प्रदेश इन्चार्जहरुले एक्ला एक्लै चुनाव लड्दा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने दाबी गरे । तर, एमालेविरुद्ध सबै दलको गठबन्धन बन्दा पार्टी निकै सानो संख्यामा खुम्चिने प्रक्षेपण गरे ।पाँच दलीय गठबन्धन फैलिएर आठ बन्ने चरणमा रहेका बेला प्रदेश इन्चार्जकोडरलाग्दो अध्ययनले एमाले अध्यक्ष ओलीलाई नमज्जाले झस्काएको छ ।
यसअघि एमालेसँग तालमेल गरेको माओवादी केन्द्र नेपाली काँग्रेससहितको चुनावी गठबन्धन बनाएर मैदानमा उत्रिएको छ । एमाले–माओवादीकै समर्थनमा एक सिट जितेको जनमोर्चा पनि गठबन्धनको एक हिस्सा बनेको छ । अर्काेतर्फ एमाले फुटेर माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता हस्तीहरु गठबन्धनकै शरणमा छन् । विगतमा ८० सिटमध्ये आधाभन्दा बढीएमालेले तालमेलका कारण जितेको थियो ।
अब बाँकी रहेको ४० सिटमध्ये २० सिट एमालेको पकड क्षेत्र मानिन्छ । तर प्रदेश इन्चार्जहरुले ९ सिटसम्म सुरक्षित रहेको विफ्रीङ गरेपछि ओली झस्किएका हुन् ।कतिपय नेताहरुले पाँच दलीय सत्ता गठबन्धनमा बाबुराम भट्टराई, महन्थ ठाकुर र बामदेव गौतमलाई सामेल बनाउन बालुवाटारमा छलफल चलिरहेको छ । एमालेका लागि पनि केही सहज बनाउन गठबन्धन आवश्यक हुनसक्छ । तर एमालेसँग तालमेल गर्ने दल नै बाँकी छैनन् ।
विगतमा अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र झापा ५ मा राप्रपासँग तालमेल गरेको एमालेले झापा ३ मा राजेन्द्र लिङ्देनलाई सघाएको थियो । अहिले पुनः तालमेल गर्ने विषयमाथि छलफल भइरहेका बेला राप्रपा अध्यक्षलिङ्देनले १२ सिट माग गरेका छन् । त्यसबाहेक कमल थापा नेतृत्वको राप्रपा नेपाल र हृदेयश त्रिपाठी नेतृत्वको प्रगतिशिल पार्र्टी नेपालले एमालेसँग तालमेल गर्न सक्छ । तर उनीहरुसँगको तालमेल एमालेका लागि अर्थ भन्दा धेरै ब्यर्थको हुनेछ ।
अर्काे कुरा, सांगठनिक हिसाले बलियो भएपनि स्थानीय तहको निर्वाचनमा एमालेले अन्र्तघात भएको निष्कर्ष निकालेको थियो ।पोखरामा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको टसलकै कारण एमाले पराजित भएको थियो । अहिले पार्टीभित्रको असन्तुष्ट समूहलाई दबाएर राख्नु र उत्साहजक मुद्धा नहुनु पनि एमालेका लागि घातक रहनेछ ।तथापी चुनाव जित्नका लागि ओलीले फेरि पुरानै अस्त्र उठाउन खोजिरहेका छन् ।
गएको निर्वाचनमा भारतीय नाकाबन्दीको कडा प्रतिवाद गरेकै कारण ओली लोकप्रिय बनेका थिए । त्यसकै प्रतिफल स्वरुप एमालेसहितको बामगठबन्धन पहिलो पनि बन्यो । तरपछि ओलीकै कारण चुच्चे नक्सा पाठ्यपुस्तकमा छाप्न रोक लगाएको विषय तत्कालिन शिक्षामन्त्रीले नै सार्वजनिक गरे ।
अहिले फेरि चुनाव नजिकिएका बेला ओलीले राष्ट्रवादको मुद्दालाई उचालिरहेका छन् । यो सरकारले कालापानी, लिपुलेकदेखि एमसीसी र नागरिकता विधेयकमा राष्ट्रघात गरेको भन्दै मत तान्न खोजिरहेका छन् । यसलाई पनि उनको चुनावी फण्डाका रुपमा हेरिएको छ ।


प्रतिक्रिया