Breaking

नेपाल–चीन मुख्य नाका रसुवागढी र तातोपानी बन्द,चाडबाड महंगिने


काठमाडौँ — नेपाल–चीन मुख्य नाका रसुवागढी र तातोपानी बन्द हुँदा चाडबाड महंगिने भएको छ। नाका बन्द भएर वस्तु आयात नै रोकिँदा लागत बढ्ने भएपछि त्यसको असर उपभोक्तासम्म पुग्ने भएको हो। साउन २५ देखि चीनले पूर्ण रुपमा नेपालसँग जोडिएका रसुवागढी र तातोपानी नाका बन्द गरेको छ। नाका के कारणले कहिलेसम्म बन्द भएको हो भन्ने नेपाली पक्षले आधिकारिक जानकारी पाएको छैन।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार कहिले खुल्छ भन्ने जानकारी चिनियाँ पक्षबाट आएको छैन। उनले भने, चीनले २५ गतेदेखि आवतजावतमा रोक लगाएको हो। त्यसयता कुनै खबर गरेको छैन। तिब्बतमा कोरोना संक्रमण बढेको भन्ने सूचना छ। त्यही कारण रोकेको हो वा अन्य कुनै कारण हो, आधिकारिक जानकारी छैन। २५ गतेअगाडि पनि पूर्ण रुपमा नाका खुलेको थिएन।

तर आंशिक रुपमा वस्तु आयात भइरहेको थियो। व्यापारीहरुले पालो पर्खेर वस्तु आयात गर्ने गरेका थिए। पूर्णरुपमा रोकिँदा नजिकिएका सबै चाडपर्वलाई असर गर्ने व्यवसायीहरुले बताएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले चीनबाट सबैभन्दा धेरै सामान यही सिजनमा आयात हुने गरेको बताए।