काठमाडौँ — दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई बताए । मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए ।
९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वरतर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
जिप अनियन्त्रित भएपछि खस्योः यात्रु
जिप अनियन्त्रित भएपछि दुर्घटना भएको एक यात्रुले बताएका छन् । जिपमा सवार एकजना घाइते यात्रुले चालकले गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको जानकारी दिएको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का अध्यक्षले बताए ।
वडाध्यक्ष जगदिशसिंह धामीले ती यात्रुको भनाइ उदृत गर्दै भने, ‘कन्ट्रोल गर्न नसकेपछि गाडी खसेको भनेर एक यात्रुले बताएका छन् । उनी अलिअलि होसमा थिए। बाँकी ५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । चालक पनि घाइते छन्।’ दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । प्रहरीको टोली दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


प्रतिक्रिया