देश

निहारिकालाई भेट्न कानुनमन्त्री गोबिन्द बन्दी प्रहरी अस्पतालमा


काठमाडौँ — अदालतबाट पनि न्याय नपाएको भन्दै आन्दोलन गरिरहेकी निहारीका राजपुतलाई भेट्न कानुनमन्त्री गोबिन्द बन्दी अस्पतालमा पुगेका छन् । बुधबार दिउँसो महाराजगन्जस्थित प्रहरी अस्पतालमा पुगेर राजपुतलाई भेटेका हुन् । आफू निहारीकाका माग बारे बुझ्न अस्पताल पुगेको मन्त्री बन्दीले नेपालखबरलाई बताए । उनका मागहरु के के रहेछन् भनेर बुझ्नका लागि हामी अस्पताल आएका हौं’, बन्दीले भने ।

निहारिकाले भने आफ्नो बच्चाको र आफूलाई बलात्कार गर्ने व्यक्तिको डीएनए परीक्षण गर्न माग गर्दै आएकी छन् । उनले जनकपुरकै शिवकुमार श्रेष्ठले आफूलाई बलात्कार गरेको र बलात्कारपछि जन्मिएको छोरा उसैको भएको आरोप लगाउँदै आएकी छन् ।

श्रेष्ठविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको थियो। तर उक्त मुद्दामा बलात्कार ठहर नहुने भन्दै अदालतले श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । तर उच्च अदालतले मुद्दाको सुनुवाइ गरेको छैन ।

यसअघि अनसन बस्दा पनि गृह मन्त्रीले निहारीकाका माग सम्बोधन गर्ने आश्वासन दिएर अनसन तोडाएका थिए । तर माग पूरा नभएपछि उनी पुनः आन्दोलनमा उत्रिएकी हुन् । उनले बलात्कारको आरोप लगाएका युवा लाई भने प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।