काठमाडौँ — जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित ज्यापु समाजको सभाहलमा सुरु भएको बैठक विहीबारसम्म चल्नेछ । ‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।
१५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए ।


प्रतिक्रिया