खेलकुद

भारतीय फुटबललाई ठूलो झट्का

योहो संवाददाता

काठमाडौँ —फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) लाई कुनै पनि फुटबल गतिविधि गर्न नपाउने गरि अनिश्चितकालका लागि प्रतिवन्ध लगाएको छ । यो प्रतिवन्धले भारतीय फुटबललाई भने ठूलो झट्का लागेको छ ।

भारतमाथि लागेको यो प्रतिवन्धसँगै उसले यसै वर्ष आयोजना गर्ने जिम्मा पाएको प्रतिष्ठित फिफा यु–१७ महिला विश्वकपको आयोजना अधिकार पनि खोसिएको छ । त्यति मात्र नभएर आगामी वर्ष हुने एएफसी एसियन कपमा छनौट भएर पनि खेल्न नपाउने भएको छ । एसियन कपमा अब भारतको स्थानमा फिलिपिन्सले सहभागिता जनाउने सम्भावना छ ।

त्यति मात्र नभएर भारतले केही महिनापछि सिंगापुर र भियतनामसँग् खेल्ने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्न नपाउने भएको छ । त्यस्तै भारतीय फुटबलको मेरुदण्ड मानिने आई लिग, इण्डियन सुपर लिग (आएसएल) जस्ता प्रतिष्ठित घरेलु प्रतियोगिताहरुको भविष्य पनि अनिश्चित बनेको छ । स्मरण रहोस, भारतले केही साता अघि मात्र घरमै सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको थियो । साथै अर्को महिना हुने महिला साफ च्याम्पियनसिपको तयारीमा समेत थियो ।

त्यसैगरी भारतीय फुटबल क्लबहरुले एएफसी र फिफा मातहत आयोजना हुने अन्तर्राष्ट्रिय क्लब फुटबलमा पनि सहभागिता जनाउन नपाउने निश्चित भएको छ । यद्यपि सम्बन्धित निकायले फिफाको प्रतिवन्धबारे आवश्यक छलफल र निकासका लागि जतिसक्दो चाडो निर्णय लिनुपर्ने धेरैको बुझाई छ ।