काठमाडौँ — रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो। झडपमा दुई प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका हुन्। घाइते हुनेमध्ये तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् ।
आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षबीच झडप भएको हो । आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीसमेतले स्थानीयवासीको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् ।
स्थानीयवासीले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका छन् । स्थितिलाई नियन्त्रणमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फायरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालका अनुसार तोडफोडका कारण ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएकोछ । स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया