Breaking

सदनमा सांसद्हरुको आक्रोश, निहारिकाले कहिले न्याय पाउछिन् ? काठमाडौं बस्नलायक कहिले हुन्छ ?


काठमाडौँ — आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले आ –आफ्नो धारणा राखेका छन् । शुन्य समयमा बोल्दै अधिकास सांसदहरुले सरकारको काम कार्बाहीबारे असन्तुष्टि जनाएका हुन् । काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको,अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भएपनि सरकारले नघटाएको,मधेशका मिटरब्याज साहु पीडित नागरिकलाई न्याय नदिएको अनि निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो भन्दै सांसद्हरुले प्रश्न समेत गरेका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सदस्य भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गरेका छन् । उनले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताए। ऐनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गनुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने पनि बताएका छन् ।

त्यस्तै,प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गरेकी छिन् । उनले सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन । निर्वाचन पछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उनको दाबी छ । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रश्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताए । उनले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरे । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउनसक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरे । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उनको भनाई छ ।