काठमाडौँ — सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको हो ।
कार्यदलको पहिलो बैठक गत २४ असारमा बसेको थियो । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजगत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।
यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको एक नेताले जानकारी दिएका छन् ।
कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।


प्रतिक्रिया