Breaking

एक्लो मान्छे ओली, एक्लिएको एमालेसँग सबै टाढिए, लिङ्देन र कमल थापा ओलीको साथमा


काठमाडौँ — आगामी संसदीय निर्वाचनमा गठबन्धनबीच मोर्चा कसिएर बाँडफाँडमा कुरा पुगिरहेका बेला विपक्षीमा रहेको एमाले रणनीति बनाउन व्यस्त छन् । तर अहिलेसम्म कुन नीतिका साथ चुनावमा जाने अन्योलता कायमै छ । एमाले अध्यक्ष ओली राजनितिक रुपमा जतिसुकै खराब भएपनि केही पक्षमा अब्बल छन्, पस्तो जतिसुकै तनाब भएपनि उनको भावभंगीमा कहिल्यै परिवर्तन आउँदैन । उनी कहिल्यै आफुलाई कमजोर ठान्दैनन् । जस्तो सुकै बाधा अड्चन आएपनि हार मान्दैनन्, बरु डटेर लड्छन् ।

अहिले ओलीका लागि निकै कठिन समय चल्दैछ । मंसिर ४ को संसदीय निर्वाचनमा एमालेविरुद्ध आठ दल मोर्चाबन्दीमा जान थालेपछि गत निर्वाचनको १२१ सिट खर्लप्प हुनसक्ने आँकलन भइरहेका छन् । तर ओली स्थानीय तहमा पाँच दललाई क्रयाककुरुक पार्छु भन्थे, अहिले आठ दललाई पछार्ने हिम्मत जुटाइरहेका छन् ।

ओलीविरुद्धको पाँच दलीय मोर्चा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत तालमेल गर्दै जाने निर्णयका साथ भागबण्डामा केन्द्रीत बनेको छ भने, लोसपा र नेसपासहित बामदेव गौतमको पार्टीसमेत सामेल भएर शक्ति बढाउने तयारी चलिरहेको छ ।यस्तो बेला एमालेको पहिलो रणनीति आफ्नो छुट्टै गठबन्धन बनाएर शक्ति बढाउने हो । तर स्थानीय तहको निर्वाचनमा एमालेसँगै रहेको लोसपाले समेत अहिले गठबन्धनमा जाने र सरकारसम्मको हिस्सा लिनेबारे छलफल चलाइरहेको छ ।

लोसपा बाहिरीए पनि एमालेसँग तालमेलका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल तयार हुनसक्छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले समेत स्थानीय तह निर्वाचनमा तालमेल गरेकाले झापासहितका केही स्थानमा फेरि त्यो सम्भावना देख्न सकिन्छ । त्यसबाहेक सीके राउत नेतृत्वको जनमत पार्टीसमेत एमालेसँग उभिन सक्छ । तर यी दलहरु कोही एक सिटमा सिमित छन् भने कुनै भर्खरै संसदीय निर्वाचनमा डेब्यु गर्दैछन् । उनीहरुसँग तालमेल हुनु र नहुनुले खासै तात्विक भिन्नता राख्ने देखिँदैन । त्यसैले एमाले चाहेर नचाहेर एक्लै जाने र शक्ति परीक्षण गर्ने तयारीमा रहेको देखिन्छ ।

निर्वाचनकै मुखमा कमजोर बाटो हिडिरहेको एमालेका लागि केही भरपाईँ गर्न भएपनि भर्खरै विभाजन भएर चोइटिएका कार्यकर्तालाई तान्नु अपरिहार्य छ । त्यसबाहेक गठबन्धनको भागबण्डामा असन्तुष्ट बनेकाहरुलाई रिझाउनु उसको उद्देश्य हुनसक्छ ।

स्थानीय चुनावमा प्राप्त लोकप्रिय मतले एमालेको जनमत अझै पनि बलियो रहेको देखाउँछ । तर पार्टीका नेताहरुले दाबी गरेजस्तो पहिलेकै स्थानमा एमाले छैन।करिब १० लाख मत नेकपा एकीकृत समाजवादी बनेपछि प्रभावित भएको देखिन्छ । स्थानीय तहको चुनावी मतपरिणामलाई हेर्दा १६५ क्षेत्रमा काँग्रेस ७६ स्थानमा अगाडी छ ।

एमाले ७१ स्थानमा अघि हुँदा माओवादी ८, जसपा ५ र एकीकृत समाजवादी १ स्थानमा अगाडी छन् । एमालेविरुद्ध आठ दलीय मोर्चा बनेर चुनावमा इमान्दार तालमेल भएको खण्डमा एमाले अगाडी रहेका केही क्षेत्रको पकडसमेत गठबन्धनमा जानेछ ।तथापी ओली कार्यकर्तामा परेको मनोवैज्ञानिक दबाबलाई भगाउन हिम्मतको घुट लगाइरहेका छन् ।