Breaking

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब


काठमाडौँ — आर्थिक वर्ष (आव) २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष १६४ प्रतिशतले नाफा बढेको प्राधिकरणको अनुमान छ । आर्थिक वर्ष २०७७/७८मा वर्ष ६ अर्ब १० करोड खुद नाफा भएको थियो । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वाषिर्क आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि भएर बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले बढाउन सफल भयौं,’ उनले भने,’विद्युत चुहावट पनि घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण भयो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो ।’

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव ७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६र७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरहेको प्राधिकरणले जनाएको छ । विद्युत प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

आव २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महसुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, उनले भने ।

विद्युत निर्यात बढ्यो, खुद आयात घट्यो

आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ ।