Breaking

जापान भ्रमण निकै उपलब्धिमूलक भयो: अध्यक्ष प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण सकेर स्वदेश आइपुगेका छन् । गत शुक्रबार राति जापान गएका प्रचण्ड बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

पाँच दिने भ्रमण सकेर आज बुधवार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण उपलब्धिमूलक रहेको र नेपाल–जापानको दुई पक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबले भ्रमण सफल रहेको पनि बताए । आउँदो मङ्सिर ४ गते हुन लागेको संसदीय चुनावमा पर्यवेक्षणका लागि जापानी संसदीय टोलीलाई नेपाल बोलाएको र टोलीले आउने आश्वासन दिएको जानकारी समेत दिए ।

भ्रमणका क्रममा जापानी सरकारी टोली र पार्टीका नेताहरूसँग सूचना प्रविधि, कृषि, पर्यटन, फोहर व्यवस्थापन र जलविद्युतका विषयमा सहकार्य र सहयोग रहने विषयमा कुरा राखेको प्रचण्डले जानकारी दिए । जापानमै आफ्ना लागि राखिएको रात्रिभोजमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी भएको र त्यसले नेपालमा चुनावको बेलामा के सत्तापक्ष के प्रतिपक्ष भन्ने राम्रो सन्देश दिएको पनि बताए । त्रिभुवन विमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुद् बनाउन सहयोगी हुने बताए ।

राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयकबारे सोधिएको प्रश्नमा प्रचण्डले राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई लागेको बताए । मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ उनले भने ।

दुबै संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । फरक प्रसंगमा उनले पार्टीका पदाधिकारी छिट्टै टुंग्याउने बताए । ‘पदाधिकारीको नाम मेरो कोटको खल्तीमा छ भनेर अलि बढ्तै भन्नुहुन्छ मिडियाका साथीहरूले। त्यस्तो पनि होइन, हामी चाँडै टुंग्याउँछौं,’ प्रचण्डले भने ।