Breaking

म प्रधानमन्त्रीको रेसमा छैन : प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूलाई धेरैपटक प्रधानमन्त्री बन्ने अफर आएको तर आफू त्यो दौडमा नरहेको बताएका हुन् ।

‘मलाई यो बिचमा पनि प्रधानमन्त्री बन्ने धेरैपटक अफर आयो । ०७४ सालको निर्वाचनको पछि पनि आयो । मैले म प्रधानमन्त्रीको रेसमा छैन भनेँ । देशमा राजनीतिक स्थायित्व र विकासको वातावरण बनाउने कुरामा मेरो भूमिका भयो भने मलाई पुग्छ भनेको हो । अहिले पनि छ । तर, म प्रधानमन्त्री बन्ने रेसमा छैन,’ उनले भने ।

आफू दुईपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै उनले आगामी चुनावपछि पनि आफू प्रधानमन्त्री हुन लागि छिनाझपटीमा नरहेको बताए ।

‘अहिले एकथरीले यो चुनावपछि प्रचण्ड प्रधानमन्त्री बनिहाल्न खोजेकोजस्तो गरी हल्ला गर्न खोजेका छन् । म त्यस्तो छिझपटीमा छैन,’ उनले भने । उनले अब आफ्नो चाहना सुशासन र विकासको वातावरण बनोस् भन्ने रहेको पनि बताए ।