Breaking

ओली भर्सेस स्वतन्त्र, रवीदेखि बालेनसम्मको सत्तोसराफ, अहिले स्वतन्त्रको औचित्य छैन,पार्टी खोल्न च्यालेन्ज


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरुमाथि जनताको बलियो विश्वास देखिएपछि संसदीय निर्वाचनमा झनै उभार चलिरहेको छ । विभिन्न पृष्ठभूमिका व्यक्तिहरु पनि स्वतन्त्र बन्ने तयारीमा छन् । तर राजनीतिक दलको राजकाजमाथि हस्तक्षेप गर्ने जथ्था निर्माण भएको छैन । यसले स्वतन्त्रमाथि प्रश्न गर्न दलहरुलाई छुट दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेस्वतन्त्रहरुलाई भडूँवा भने ।विकृति विसंगती, कुसंस्कार र असभ्यताको दोष जति स्वतन्त्रलाई दिए ।

ओली बोल्न थालेपछि यतिमै रोकिने कुरा पनि भएन, फेद न टूप्पोको भन्दै स्वतन्त्र बनेर वा स्वतन्त्र नाम दिएर राजनीतिमा आएकालाई स्याल हुँइयाको संज्ञा दिए ।पार्टी खोलेका तर स्वतन्त्रकै ‘साइनबोर्ड’ झुण्ड्याएका रवी लामिछानेहरुमाथि कडा कटाक्ष गरे । सायद स्वतन्त्रप्रति ओली निकै भडास निकाल्न चाहन्छन्, दलहरुका अघि नेता बनेर हिडेकोप्रति पनि ओलीको चित्त बुझेको छैन । मुलकुरा त स्वतन्त्रसँग नीति नै नभएको ओलीको कसिलो दाबी छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं जस्तो ठाउँमा ओलीको भाग स्वतन्त्रले खोसेका थिए । पछि उनै स्वतन्त्रलाई घरमा बोलाएर तवला दिएर पठाए । अहिले काठमाडौंका मेयर बालेन्द्र साह ओलीको उपहार तवला बजाएर बसिरहेका छन् ।

उनी आएको दुई महिना पुग्न थाल्यो तर बालेनको बदलाब देखिएको छैन ।यदपी उनको सक्रियता र उनीप्रति जनताको निकै ठूलो भरोशा चट्टान जस्तो अडिग छ । काठमाडौंका बालेन र धरानका हर्क साम्पाङ जस्ता स्वतन्त्रको लोभलाग्दो उभारकै कारण ओलीहरु आत्तिएका छन् । हिजो आफैलाई जनताले उठाउने गरेका प्रश्न आजभोलि ओलीहरु स्वतन्त्रमाथि उठाइरहेका छन् । नत्र आगामी संसदीय निर्वाचनमा आफ्नै भाग खाइदेलान् भन्ने पीर परेको छ । यतिभन्दै गर्दा स्वतन्त्र अभियानले उनीहरुलाई नै बल पुगिरहेको छ ।

जनताले बालेन र हर्क जस्ता स्वतन्त्रलाई रुचाएपछि कुनै बेला वैकल्पिक शक्ति निर्माणको काम फत्ते पार्छु भनेका रवीन्द्र मिश्रहरु स्वतन्त्रको झण्डा बोकेर आन्दोलन भाँड्ने तयारीमा छन् ।देशलाई विकल्प दिन्छु भन्दै वैकल्पिक शक्ति बनेका बाबुराम भट्टराईहरुसमेत अब के गर्ने आफ्नै लागि विकल्प खोजिरहेका छन् ।खास स्वतन्त्रहरुको पनि जग बलियो छैन । कमजोर धरातलमा उभिएर चलिरहेको स्वतन्त्र अभियान नीतिविहिन तरिकाले जनतामा जाँदा निर्लज्ज बन्नुबाहेकको विकल्प छैन । किनकि संसदीय निर्वाचन स्थानीय तह जस्तो होइन ।

दलीय व्यवस्थामा अल्पमत र बहुमतको खटनपटन हुने भएकाले भोलि संसदमा पुगेर पुरानै राजनीतिक दलका हर्कतमाथि मुखदर्शक बन्नुमात्र उपलब्धी हुनेछ । किनकि राजनीतिक रुपान्तरणका लागि शक्तिशाली हस्तक्षेप गर्ने संगठन आजको आवश्यकता हो ।जुन स्वतन्त्रहरुले देशभर विस्तार गर्न सकिरहेका छैनन् । फेरि स्वतन्त्रहरु सामूहिक बन्न थाले स्वतन्त्रता हराउन सक्छ भन्ने तर्फ पनि हेक्का हुनुपर्छ । मुलतः संसदीय निर्वाचनमा स्वतन्त्र बन्न चाहनेहरुका लागि यो व्यवस्था नै बाधक छ ।

म असल छु, म स्वतन्त्र हुँ, मलाई भोट हाल, म गरेर देखाइदिन्छु भन्दैमा जनताले पत्याउने अवस्था पनि छैन ।यसका लागि स्पष्ट नीति र विचारसहित जनताको बीचमा गएर मत र मन जित्न आवश्यक छ । अहिले त प्रत्यक्षतर्फ मलाई भोट हाल, बाँकी समानुपातिकमा उनै काँग्रेस, एमाले र माओवादी जस्ता दलहरुलाई हाले हुन्छ भन्ने हैसियत स्वतन्त्रहरुको छ । जबसम्म यस्ता विषयमा स्वतन्त्रहरु सचेत र स्पष्ट बन्न सक्दैनन्, तबसम्म ओली, देउवा र प्रचण्डहरुले स्वतन्त्रमाथि प्रश्न उठाइरहने छन् र हेपिरहने छन् ।