Breaking

शक्ति राष्ट्रको भूमरीमा ताइवान, ताइपेईसँग चिडिएको चीनले परराष्ट्र मन्त्रीलाई किन बोलायो ?


काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काआगामी मंगलवार छिमेकी मुलुक चीन भ्रमणमा जाँदै छन् । वर्तमान सरकार बनेपछि चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा २५ सदस्यी पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो । भ्रमणको एजेन्डा सार्वजनिक गरिएको छैन । तर, ताइवान तनावका बेला हुन लागेको परराष्ट्रमन्त्री खड्काको चीन यात्रालाईचासोका साथ हेरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिकानिकट बन्दै गएको आरोप राजनीतिक वृत्तमा सुरुवात देखि नै लाग्दै आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनपछि पश्चिमा मुलुकको बढ्दो सक्रियताले पनि यस आरोपलाई पुष्टि गर्न सहयोग पुग्छ ।

तिब्बत चासो भएको छिमेकी मुलुक चीनपनि नेपाल मामिलामा चुप लागेर बस्ने कुरै भएन । फलत पछिल्लो समय चिनियाँ अधिकारीको नेपाल भ्रमण पनि बाक्लिएको छ । छिमेकी मुलुक चीनको सत्ता सञ्चालक चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान चाओलाई बिदा गरेको महिना दिन नपुग्दै परराष्ट्रमन्त्री नारायण खड्का चीन जाँदै छन् ।कुटनीतिक भ्रमण र भेटघाट राजनीतिक दलका नेता र सरकारको प्राथमिकतामा पर्दै आएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार खड्काको चीन भ्रमणतालिका साउन २४ देखि २६ गतेसम्म रहेको छ । कोभिडपछि चिनियाँ पक्षबाट केही उच्चस्तरीय भ्रमण भए पनि नेपालतर्फबाट भएको थिएन । चिनियाँ अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाकै भ्रमणको अपेक्षा गरिरहेका छन् । मन्त्री खड्काको भ्रमण यसैको तयारीका लागि त होइन भन्ने आँकलन पनि कतिपयको छ । तथापी, भ्रमणको एजेन्डाबारे मन्त्रालय अझै स्पष्ट छैन ।ताइवान मामिलाका कारण मन्त्री खड्काको भ्रमणलाई चासोका साथ हेरिएको छ । प्रमुख प्रतिपक्षी एमालेले परराष्ट्रमन्त्रीको चीन भ्रमणको प्राथमिकता पूर्वाधार विकास हुनुपर्ने बताएको छ । ताइवान मामिलामा नेपालएक चीन नीतिप्रति कटिवद्ध हुनुपर्ने एमालेको धारणा छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेसँगै ताइवान तनावमा छ । पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरुप चीनले ताइवान टापुवरपर सैन्य अभ्यासलाई तिव्रता दिएको छ । अमेरिका र पश्चिमा मुलुकले चीनलाई उत्तेजित पार्ने वक्तव्य दिइरहेका छन् ।ताइवानकै विषयलाई लिएर विश्वका विभिन्न मुलुक पक्ष–विपक्षमा ध्रुविकृत भइरहेका छन् । यस्तो परिवेशमा हुन लागेको परराष्ट्रमन्त्री खड्काको चीन यात्रा चासोको घेरामा छ ।

नेपालले लामो समयदेखि एक चीन नीति लिए पनि पश्चिमा मुलुकको प्रभाव र दबाबमा कतै विचलित हुन्छ कि भन्ने चिनियाँ आशंका छ । नेपाल भ्रमणको क्रममा चिनियाँ अधिकारीहरूले बारम्बार एक चीन नीतिप्रतिको प्रतिवद्धताबारे चासो राख्दै आएका छन् । चीनले परराष्ट्रमन्त्रीलाई बोलाएर फेरि एक पटक एक चीन नीतिप्रति प्रतिवद्धता खोजेको पराष्ट्रविदहरु बताउँछन् ।परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रतिको प्रतिवद्धताका साथै नेपाल र चीनबीच विआरआईसहित विभिन्न महत्वकांक्षी योजना कार्यान्वयनबारे पनि कुरा उठाउनुपर्छ ।