समाचार

एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न मधेश सरकारको आग्रह, नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी


काठमाडौँ — मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्रमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्रसमेत बुझाइसकेको स्मरण गराउँदै मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ। मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशका गृहमन्त्री स्तरीय भेलाले यथाशिघ्र समायोजन हुनुपर्ने माग सहितको घोषणा पत्र समेत जारी गरेको थियो।