Breaking

महाअभियोग समयमै अगाडि नबढ्नुमा एमाले नै जिम्मेवार भएको कांग्रेसको आरोप


काठमाडौँ — सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै जिम्मेवार भएको आरोप लगाएको छ । प्रतिनिधिसभामा महाअभियोगमाथि आइतबार सुरु भएको छलफलमा भाग लिँदै एमाले सांसदहरुले समयमै किन अगाडि नबढाएको, करिब ६ महिना के हेरेर बसेको भनी सत्ता पक्षलाई प्रश्न गरेका थिए । जवाफमा कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले प्रश्न एमालेतिरै फर्काए ।

उनले भने, विलम्ब भयो । यसको कारण हो– संसदले ९ महिनासम्म अवरोध झेल्नु । संसदको अवरोध खुलेपछि संसदको ध्यान बजेटमा केन्द्रित भएको उल्लेख गर्दै अनुकुल समयमा महाअभियोग अगाडि बढेको दाबी गरे । सिफारिस समिति बनेको छ । फेरि पनि सिफारिस समितिमा छलफल हुन्छ । विकृति, विसंगतिको चाङमा उभिएका चोलेन्द्रविरुद्धको महाअभियोग पारित गरिनुपर्छ’ विश्वकर्माले भने ।

कांग्रेस सांसदहरुले एमालेलाई विगतमा सर्वोच्च अदालतमा आन्दोलन भइरहँदा सबै पक्ष एकै ठाउँमा रहेको पनि स्मरण गर्न आग्रह गरेका छन् । सांसद विश्वकर्माले प्रधानन्यायाधीशले पद अनुसारको आचरण गर्न नसकेको, विवादित र अन्यायपूर्ण फैसला गरेको भनी कानुन व्यवसायी, न्यायाधीश र पूर्व न्यायाधीशले आन्दोलन गरेको र सांसद र नेताहरुमाथि प्रश्न उठेको बताए ।