Breaking

कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन योगेश भट्टराईको माग


काठमाडौँ — नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ ।

आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गरेका हुन् ।

स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्‍याउनुपर्ने पनि उनले बताए । ‘बीमा रकम बढाउनका निम्ति ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने ।

स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको उनले बताए । ६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

उनले गंगालाल अस्पतालबाट ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका एक चिकित्सकलाई थप तीन वर्ष जागिर खुवाउने उद्देश्यले नियमावली संशोधन गरेर उमेर हद ६३ वर्ष पुर्याइएको भनेर आक्रोश व्यक्त गरे । बरु उनको नागरिकता ४० वर्षको बनाइदिए उनले अझै २० वर्षसम्म जागिर खान पाउने थिए भनेर भट्टराईले व्यंग्यसमेत गरे ।