काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधान रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन् ।
सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधान रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताएका हुन् ।
उनले भने, ‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।’ तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्ने उनको दाबी छ । तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपर्यो ।’
अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो । संविधान र ओलीको प्रतिगमनविरुद्ध एक भएका दलहरू एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।
यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए । उनले भने, ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गाउनेसम्मको रोडम्याप अहिलेदेखि नै बनाउनुपर्छ ।’
देशलाई स्थिर सरकार दिन पनि पदाधिकारी जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो । फरक प्रसंगमा बोल्दै पौडेलले भ्रातृ संस्थाहरूले साउन महिनाभित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचनपछि भ्रातृ संस्थाहरुको अधिवेशन हुने बताए ।
उनले भने, ‘भ्रातृ संस्थाहरूले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भ्रातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला ।’


प्रतिक्रिया