काठमाडौँ — एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट बाहिरिएपछि कार्यपालिका स्थगित भएको हो ।
किन स्थगित गरेको कारणबारे केही बोल्नु भएन । कार्यपालिका बैठकमा आफ्नो कुरा राख्ने, विरोध गर्ने अधिकार त थियो नि । तर, बिना छलफल र जानकारी नै नदिई यसरी बैठक बहिष्कार गर्नु स्वभाविक भएन । उहाँहरुले दलीय रुपमा असयोग गर्न खोजेको हो भने त्यो गलत हुनेछ । उपप्रमुख बेघाले भने आजको बैठकमा बाटोको मापदण्डको विषय, संस्थागत विद्यालयको पदपुर्ती र सुधार सम्बन्धी योजना, कर्मचारीहरुको मुल्यांकन लगाययतको विषय थिए । कार्यपालिकामा बहुमत सदस्यले बहिष्कार गरेपछि एजेण्डा अगाडी नै बढेन ।
कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् आज अनेकन एजेन्डामध्ये साबुन फ्याक्ट्री खोल्ने र खानेपानीको लागि ठूलो जलाशय बनाउने मेरा एजेन्डाहरु थिए तर कार्यपालिका बैठक बस्न सकेन । आशा छ छिट्टै बसिनेछ बैठक र पारित हुनेछन् । धरान उपमहानगरमा मेयर हर्क साम्पाङ्ग र एमाले बिचको द्वन्द्व चर्किँदै गएको छ । एमालेकी नेतृ रहेकी मेयरमा पराजित मञ्जु भण्डारीले सहकारीको विषयलाई लिएर उपमहानगर विरुद्ध मान्छे उचालेको भन्दै मेयर राईले सामाजिक सञ्जालमा विरोध गरेका थिए । त्यसपछिको स्टाटसहरुले विवाद बढ्दै गएको थियो । धरान उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत रहेको छ ।


प्रतिक्रिया