Breaking

म्यादी प्रहरीमा तीन दिनमा ४ हजार आवेदन


काठमाडौँ — मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाकालागि म्यादी प्रहरीको भर्ना खुलेको दिनदेखि नै बारामा आवेदन भर्नेहरुको भिड लागेको छ । तीन दिनमै ४ हजारभन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । असोज २३ गतेदेखि ३० गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन आवदेन खुल्ला गरिएको छ । पहिलो दिनमै एक हजार तीन सयभन्दा बढी आवेदन परेको थियो ।

तेस्रो दिनसम्म ४ हजारभन्दा बढी आवेदन परेको तर २ हजार ३ सय दर्ता गरिएको र बाँकी दर्ताको क्रममा रहेको बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए । उनले म्यादी प्रहरीमा आवेदन दिनेको उत्साहले प्रहरीप्रति लगाव बढेको पुष्टि हुने बताए ।

जतिसक्दो सहज तरीकाले बिहान ९ बजेबाट नै आवेदन दिन सक्ने ब्यवस्था मिलाएको बारा प्रहरीको दावी छ । तर, आवेदकहरुले भने व्यवस्थापन राम्रो नहुँदा दुई दिनसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । ब्यवस्थित तरीकाले आवेदन लिने काम नभएकाले समस्या परेको आवेदन दिन आएका राकेश साहले बताए । उनका अनुसार जिल्लाका ग्रामिण स्थानबाट आएकाहरु दुई दिन लगाएर भर्ना फाराम भर्न बाध्य छन् ।