काठमाडौँ — अमेरिकाले चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेको बताएको छ ।
रणनीतिक सञ्चारका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले जापान नजिक चिनियाँ सैन्य अभ्यासलाई ‘धेरै नजिकबाट’ नियालिरहेको बताएका हुन् ।
बिहीबार एमएसएनबीसीसँगको एक अन्तरवार्तामा किर्बीले यो आफूहरूका लागि मात्र नभएर ताइवानका जनता र आफ्ना सहयोगीहरूविशेषगरी जापानका लागि सम्बन्धित रहेको बताए ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानमा भएको विवादस्पद भ्रमणपछि हालैका दिनहरूमा चीनले ताइवान नजिकै आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास गर्दैछ ।
पेलोसीको यात्रालाई लिएर चीनले यसरी प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको किर्बीको भनाइ छ । उनले यस अभ्यासले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।
यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनले संकट उत्पन्न नगर्नेमा आफू आशावादी रहेको बताएका छन् । दक्षिणपूर्वी एसियाली मुलुकको संगठन आसियान–अमेरिका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै ब्लिङ्केनले द्वन्द्वले चीनसहित कसैको पनि भलो नगर्ने बताए ।
आफूहरू ताइवान स्ट्रेटमा शान्ति र स्थायीत्वको पक्षमा रहेको भन्दै यथास्थितिलाई बलपूर्वक परिवर्तन गर्ने कुनै पनि एकपक्षीय प्रयासको विरोध गर्ने उनको भनाइ छ । द गार्डियनबाट ।


प्रतिक्रिया