Breaking

घोषणा भयो चुनावको मिति,दलहरु निर्वाचन केन्द्रीत,आयोज जुट्यो तयारीमा, मतदाता नामावली स्थगित


काठमाडौँ —सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु यसका लागि सहमत भएका थिए ।जसलाई प्रमुख प्रतिपक्षी दलले स्वभाविक भएको प्रतिक्रिया दिएको छ भने आयोगले निर्वाचनको तयारीमा जुटिसकेको बताएको छ । सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।

बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। यसअघिबाटै कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता निर्वाचन हुने पूर्वअनुमानका वीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो। निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।

तर, उक्त दिन शुक्रबार पर्ने र शुक्रबारका दिन निर्वाचन गर्दा मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले दुई दिनपछि मिति तय गरिएको बताईएको छ । योवीचमा सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको फागुनसम्म निर्वाचन धकेल्न चाहेको विश्लेषण भएको थियो । तर स्थानीय तहको निर्वाचनको नतिजाले हौसिएका प्रधानमन्त्री देउवा जतिसक्दो चाडो निर्वाचन गराउने पक्षमा थिए ।

त्यसमाथि उनका ज्योतीषले समेत मंसिर ४ नै उपयुक्त भएको सुझाव दिएको चर्चा छ । फलत ः निर्वाचन मिति घोषणा गर्न ढिलाई भएको भन्दै देउवाले गठबन्धन दलका नेतालाई दबाब बढाएपछि यो मितिमा सहमति जुटेको हो । यसैपनि फागुनमा प्राकृतिक कारणले पनि चुनाव गराउने अनुकुल हुने अवस्था थिएन । यता गठबन्धनका वारेमा कांग्रेसले गरेको निर्णय र समाजवादी केन्द्र निर्माणको च्याप्टर क्लोज हुनु,माओवादी पनि यहि गठबन्धनमा अघि बढने कुरामा प्रष्ट हुनुले पनि निर्वाचनको मिति अपेक्षित मितिमै घोषणा भएको हो ।

निर्वाचनका सम्बन्धनमा प्रमुख प्रतिपक्षीले भने आशंका व्यक्त गर्दै आएको थियो । स्थानीय तह निर्वाचन पनि चौतर्फी दवावका कारण गराएको कारण अहिले पनि सत्ता गठबन्धन चुनाव सार्ने खेलमा लागेको एमालेको आरोप थियो । तर ओली सरकार भन्दा आफू अग्रगामी भएको र लोकतान्त्रिक प्रणालीको मुख्य विशेषता आवधिक निर्वाचनका विषयमा आफू सचेत रहेको देखाउने दवाव पनि देउवामा थियो । २०७४ मा मंसिर १० र २१ गतेगरी दुई चरणमा निर्वाचन भएको थियो । त्यसैले सो मितिअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने दबाब सरकारमाथियो ।जसलाई लिएर सरकारको नियतमाथि नै ओलीले प्रश्न गर्दै आएका थिए । मिति घोषणा भएसंगै उनले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन ्।

निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ । तर संसद के हुन्छ भन्ने विषयमा भने फरक फरक वहस सुरु भएको छ । यता निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको प्रतिक्रिया दिएका छन्। मिति घोषणासंगै मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताएका छन ।