Breaking

पानीको सतह बढ्दा सप्तकोशीमा थप जोखिम


काठमाडौँ — वर्षा हुने क्रम नरोकिँदा सप्तकोशीमा पानीको सतह बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका ३ भाटेपुलमा सप्तकोशीको पानीको सतह बढ्दा स्थानीयलाई थप सकस परिरहेको छ । बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीले उद्दार गरिरहेको छ । स्थानीय प्रशासनका अनुसार सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए । उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए ।

उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ । उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनले बताए । लगातारको वर्षासँगै आएको बाढीले बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको हो ।