Breaking

सरकारको काम कारबाहीलाई लिएर सदनमा कडा आलोचना, अर्थमन्त्री नियुक्तिबारे यस्तो व्यङ्ग्य


काठमाडौँ — मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसदहरुले अर्थमन्त्रीको आलोचना देखि विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी सम्मको विषयमा आ आफ्नो धारणा राखेका छन् । केहि सांसदले सडक पुर्वाधार र सरकारको काम प्रति समेत प्रश्न उठाएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको कडा आलोचना गरेका छन् । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गरे । सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति रोचक कटाक्ष गरे ।

त्यस्तै नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले नेपाल चक्रवर्ती कलेजले कानून संकायको शुल्क बढाउँदा आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्सर लगाएर कुटपटि गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद मिना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहँुच सम्मान बनाउन सरकारसँग माग गरीन् । ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसईईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको उनको भनाई छ ।

त्यस्तै सांसद मोहन बानियाँले कर्णाली करिडोर निर्माणमा सेना थप गर्न सरकारसँग माग गरे ।कर्णाली करिडोर निर्माण कार्य सुस्त भएको उनको गुनासो छ ।

त्यस्तै,सांसद यशोदा गुरुङ सुवेदीले सरकारले विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरीन । उनले सरकारले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति खारेज भएको हो भन्दै प्रश्न समेत गरिन । बैठकको अधिकांस समय सरकारको आलोचना गरेका सांसदहरुले सामाजीक सुरक्षा, शान्ती सुरक्षा, सडक पुर्वाधार, आर्थिक संकट लगायत विषयका आवाज उठाएका थिए