Breaking

गण्डक बाँधको सबै ढोका खोलियो, ४० भन्दा बढी गाउँ डुबानको जोखिममा


काठमाडौँ — नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलेपछि पुर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनदेखि परेको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका फाटक खोलेको हो । बाँधको ढोकाको चाँवी सधैं भारतले राख्ने गरेको छ । भारतले ढोका खोलेसँगै नेपालका वस्ती डुबानको जोखिममा पर्ने गर्दछन् । देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र तटीय क्षेत्रमासमेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो ।

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । प्रति सेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने गण्डक बाँधको क्षमता छ । पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका अमित खड्काले बताए ।

३ लाख ६७ हजार क्‍युसेक पुगेपछि खतराको लेबल मानिन्छ । अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए । पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।