समाचार

विदेशि फिल्म भित्त्राउनका लागि नेपालबाट २१ करोड ४२ लाख रुपैयाँ बाहिरियो


काठमाडौं — गत वैशाखदेखि असार महिनासम्म विदेशी फिल्मको अधिकार खरिद गरेबापत नेपालबाट २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासिक प्रगति विवरणमा उक्त कुरा उल्लेख छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयबाट भएको छ । १० करोड १ लाख रुपैयाँ बराबरको भारु र ११ करोड ४० लाख रुपैयाँ बराबरको अमेरिकी डलर विदेश पठाउन सिफारिस भएको हो ।

निर्माताले उक्त अवधिमा स्पाइडरम्यान, डक्टर स्ट्रेन्ज, आरआरआर, केजीएफ च्याप्टर २, पुष्पाजस्ता फिल्म ल्याउन वितरकले उच्च रकम विदेशी कम्पनीलाई तिरेको अनुमान छ । विदेशिएको यो रकममा फिल्मले गर्ने कमाइ समावेश छैन । केजीएफ च्याप्टर २ एक्लैले २० करोड ग्रस कमाइ गरेको छ । नेपाली वितरकले दक्षिण भारतीय र हलिउड कम्पनीलाई फिल्म ल्याउन महंगो मूल्य तिरिरहेका छन् । यसै साता आमिर खानको ‘लाल सिंह चड्डा’को भारतीय वितरकलाई मात्र २ करोड रुपैयाँ तिरिएको छ ।