काठमाडौँ — मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् । मुद्दा शाखामा कार्यरत चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन् ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए । मुद्दा दर्ता हुनासाथ चौलागाईँ निलम्बित भइसकेका हुन,न्यौंपानेले सेतोपाटीसँग भने, ‘अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ ।
शुक्रबार बिहान २ बजे बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईँले मध्यरातमा निकालेर आफ्नो कोठामा पुर्याएका थिए । त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका ब्यक्तिले होहल्ला गर्दै बिरोध जनाएका थिए । शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँ बिरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन् ।
असईँ चौलागाईँले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पुर्याई आफूलाई यौंन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले सोमबार आरोपित चौलागाईँलाई अदालतमा उपस्थित गराउँदैछ । यसअघि जिल्ला अदालत बाँकेले चौलागाईँलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको हुँदा फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको हो ।


प्रतिक्रिया