काठमाडौँ — ११४ दिन पछि कतारमा विश्वकप हुँदैछ । आगामी नोभेम्बर देखि सुरु हुने विश्वकप नजिकिँदै गर्दा कतारले कयौं चुनौतीको सामना गर्नु परेको थियो । १२ वर्षअघि २२ औं संस्करणको विश्वकप कतारमा हुने तय भएदेखि नै कतार विश्वकप विवादित बन्दै आएको छ । २९ लाख मात्र जनसंख्या भएको मुलुकले यति ठूलो खेल समारोहको आयोजना गर्ने अवसर पाउदा धेरै राष्ट्रहरु सम्भव हुनेमा विश्वस्त हुन सकेका थिएनन् ।
एक त भूगोलमा सानो त्यसमाथि पनि त्यहाँ हुने प्रतिकुल मौसमले गर्दा कतारले विश्वकप फुटबललाई लिएर विभिन्न प्रश्नहरुको सामना गर्नुपर्यो । २०१० मा जब कतारलाई विश्वकप आयोजना गर्ने अवसर प्राप्त भयो तब यो निर्णयको चौतर्फी विरोध भएको थियो । पैसाको चलखेलजस्ता आरोप लागेको कतारले प्रतिकुल मौसम, भौतिक संरचनालगातयका विषयमा विरोध हुन थालेपछि थप चुनौतीको सामना गर्नु पर्याे ।
विश्वकप गर्न सबैभन्दा महत्व र प्रमुख संरचना भनेको नै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल स्टेडियम हो, जुन तत्कालिन समयमा कतारमा थिएन । साथै, विश्वकप हुने समय मध्य गर्मी सिजन भएका कारण औसततापक्रम ४० देखि ५० डिग्री सेल्सियससम्म पुग्ने गर्छ । यतिको तापक्रममा मरुभूमिमय कतारमा फुटबल खेल्नु सम्भव पक्कै थिएन । यस्तो अवस्थामा कतारले ती सबै चुनौतीलाई स्वीकार्दै १२ वर्षको अन्तरालमा आर्काषक र तापक्रम मेन्टेन हुने गरि उच्च सेवासुविधा सम्पन्न रंगशाला बनाएर विरोध गर्ने सबैलाई मौन बनाइदिएको छ ।
कतारले विश्वकपकै लागि भनेर ८ वटा रंगशाला तयार पारेको छ । जुन उच्च सेवासुविधा सम्पन्न भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ । चौतर्फी विरोधका बाबजूद पनि कतारले गरेको यो प्रयास प्रशंसा योग्य नै छ । कतारको यो प्रयासले खाडी वा अरबी मुलकलाई विश्वकप अघि हेर्ने नजर र यसपछि हेर्ने नजरमा भिन्नत पक्कै मिल्ने छ । विभिन्न अड्कलबाजीका बीच नोभेम्बर २१ अर्थात मंसिर ५ गते देखि सुरु हुने २२ औं संस्करणको विश्वकप सफल पार्नतिर भने कतार पूर्ण रुपमा लागि परेको छ ।


प्रतिक्रिया