Breaking

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित, अब प्रमाणिकरणकालागि राष्ट्रपतिको कार्यालयमा पठाइने


काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतवार प्रमाणित गरेका छन्। संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन्। प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ पारित गरेको थियो।

त्यसैगरी राष्ट्रिय सभाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ गत साउन १२ गते पारित गरेको थियो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ राष्ट्रियसभाले बहुमतसहित पारित गरेको थियो। सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ। त्यसपछि नयाँ प्रावधान अनुसार विदेशबाट बिहे गरेर आएका महिला तत्कालै नागरिकता पाउनेछन्। त्यस्तै गैरआवासीय नेपालीले पनि दोहोरो नागरिकता पाउनेछन्।