Breaking

गठबन्धन ढोडको लौरो हो: अध्यक्ष ओली


पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए ।

उनले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु ।’ उनले यदि देशको पक्षमा, लोकतन्त्रको पक्षमा र न्यायको पक्षमा कदम चाल्न पर्यो भने नेकपा एमालेले पनि कदम चाल्न सक्ने बताए । त्यसका लागि एमाले कदम चाल्न तयार रहेको उनको भनाई थियो । ओलीले गठबन्धनका नेताले कामु प्रधानन्यायाधीशको निवासमा गएर मुद्दा प्रभावित बनाएको संकेत पनि गरे ।

‘तपाईहरु देखिरहनुभएको छ, अखबार र अनलाइनहरुमा समाचार आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर दुई घण्टा बसे र त्यहाँबाट ती नेता बाहिर निस्केर घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो’, ओलीले प्रश्न गर्दै भने, ‘के भइरहेको छ ? लेनदेन हुने गरेको छ अदालतमा । हामी हेर्न चाहन्छौ, विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौ सम्मानित अदालतबाट न्याय सम्पादन हुनुपर्दछ ।’