काठमाडौँ —पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले आउँदो प्रदेश तथा संघीय निर्वाचन आफ्नो अन्तिम कार्यकाल हुनसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आउँदो चुनाव लास्ट इनिङ्स होस् भनेका हुन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको आँकलनअनुसार नतिजा नआएको पनि बताए। पार्टीले १७५ सिटको आँकलन गर्दा पनि पहिले जितेका झन्डै ५० सिटलाई जोगाउन नसक्दा आफूहरूले सोचेअनुसारको नतिजा नआएको बताए । त्यही अनुभवलाई लिएर अबको बागदोर माओवादी केन्द्रको हातमा आउने बताए ।
‘त्यो अनुभव लिएर हामी जाँदैछौं र हामी बन्छौं । हामी त्यसरी जाँदा देशको बागदोर हाम्रै हातमा आउँछ । र हामीले एकचोटी देशलाई यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ,’ उनले भने, ‘मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स। यो लास्ट इनिङ्स चाहि पछि सम्मको सन्ततिलाई सम्झिनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’ अबको निर्वाचनमा माओवादी केन्द्र देशकै पहिलो पार्टी नभएपनि बामपन्थी पार्टीहरू मधेये भने पहिलो हुने प्रचण्डले बताए ।
‘आउँदो प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ,’ उनले भने । यसबारेमा कांग्रेसका नेताहरूसँग पनि कुराकानी गरेको बताए । यसमा कांग्रेसले सहयोग गरे सबै चिजहरू सहज रूपमै अघि बढ्ने र सहयोग नगरेमा भने सहज रूपले अघि नबढ्ने प्रचण्डले चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया