Breaking

मेयर बालेनलाई बञ्चरेडाँडाका स्थानीयको चेतावनी, भदौ १ देखि फोहोरफाल्न नदिने घोषणा


काठमाडौँ — काठमाडौँ महानगरको फोहोर व्यवस्थापन वर्षाै देखि समस्याको रुपमा रहँदै आएको छ । महानगरपालिकाको मेयरमा बालेन्द्र साह निर्वाचित भएर आएसँगै समस्या समाधान हुने अपेक्षा गरिए पनि झन् यो विषय दिन दिनै जटिल बन्दै गएको छ । विगत एक सातादेखि उठ्न नसकेको फोहोर उठाउने सूचना जारी गरेकै दिन बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोरकार समितिले भदौ १ देखि महानगरको फोहोर फाल्न सधैका लागि रोक लगाउने घोषणा गरेको छ ।

समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै १७ वर्षदेखि सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा षडयन्त्र गरेको भन्दै अब कुनै पनि हालतमा धोका खान तयार नभएको र फोहोर फाल्न पनि नदिने घोषणा गरेका हुन् ।

महानगरले विगतमा गरेका सम्झौता र सहमतिमा कुनै चासो नै नदिई फोहोर व्यवस्थपनको विकल्प खोज्दै हिडेको स्थानीयको आरोप छ । उनीहरुका अनुसार महानगरले विकल्प खोज्नु कुनै समस्या नभए पनि पहिले बिसर्जन गरेका फोहोरको व्यवस्थापन नै नगरी बेवास्ता गरेकोमा भने असन्तुष्टि रहेको बुझिन्छ ।

यस विषयमा शहरी विकास मन्त्रालय पनि अनविज्ञ भने छैनन् । रामकुमारी झाँक्रीको ठाउँमा मन्त्री बनेका मेटमणी चौधरीलाई समितिले बुधबार भेटी ज्ञापनपत्रसहित जानकारी गराईसकेको छ । मन्त्री चौधरीले ३० दिने उपलब्धी सार्वजनिक गर्दै आफ्नो मन्त्रलाय अरु मन्त्रलायभन्दा अब्बल रहेको दावी गर्दै गर्दा फोहोरले मच्चाएको बितण्डामा मौन छन् । बरु, मन्त्री हुनुभन्दा अघिदेखि नै फोहोर व्यवस्थापन उच्च प्राथमिकतमा रहेको भन्दै फोहोर उठ्न नसकेको बेला उनले दिएको अभिव्यक्ति भने आफैमा विरोधाभाष देखिन्छ ।

हप्ता दिन फोहोर उठ्न नसक्दा महानगरको अवस्था कुन रुपमा पुगेको छ त्यो हालको दृश्यले बताएकै छ । काठमाडौँको फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिलसाइट जाने सडकको स्तरोन्नती गर्ने भन्दै महानगरले साउन ४ गतेदेखि फोहोर घरैमा व्यवस्थापन गर्न सूचना निकाल्यो । महानगरको आग्रह बमोजिम महानगरवासीले फोहोर घरैमा व्यवस्थित पनि गरेर राखे ।

एक साता पछि फोहोर उठाउँछौ भनेर प्रतिबद्धता जनाएको महानगरले बिहीबारबाट फोहोर उठाउन सुरु त गर्याे तर फोहोर लिएर गएको गाडी भने गन्तव्यमा पुग्नै पाएन । ल्याण्डफिलसाइटका सरोकार समितिले राजधानीमा पत्रकार सम्मेलन गर्नु पूर्व नै उता एक पक्षले भने फोहोरको गाडीलाई बिचैमा रोकेका छन् । दिन दिनै जटिल बन्दै गएको फोहोर व्यवस्थापनले वर्षामा काठमाडौँको जनजीवन झनै प्रभावित हुन देखिन्छ । स्थानीयवासी र महानगरबीचको यो टसलले राजधानीको फोहोर उठ्न कहिलेसम्म बन्द हुुने हो अनिश्चित बनेको छ ।