काठमाडौँ — अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दुई घण्टा लामो संवादमा ताइवानको विषयलाई लिएर दुवै नेताले एक अर्कालाई चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति बाइडनले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको उल्लेख गर्दै चिनियाँ समकक्षीलाई ताइवानको हैसियत परिवर्तन गर्ने एकपक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन् ।
यसै क्रममा सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकैलाई जलाउने चेतावनीसमेत दिएका छन् । साथै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ। भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ ।
न्यान्सी पेलोसी अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुन् । यसैबीच अमेरिकी विदेश मन्त्रालयले न्यान्सीले कुनै पनि यात्राको घोषणा नगरेको बताए पनि चीनले ताइवानको यात्रा गरेमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । ताइवान आफ्नो प्रान्तमध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ। अर्को तर्फ ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ ।
तर वासिङ्टनले ताइवानको कूटनीतिलाई एक चीन नीतिअन्तर्गत स्वीकार गरेको छैन । अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियारसमेत बिक्री गर्दै आएको छ । बिहीबार दुई राष्ट्रपतिबीच भएको टेलिफोन संवाद ‘प्रत्यक्ष र इमानदार’ भएको प्रतिक्रिया दिँदै बाइडेन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए ।
बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए । तर बाइडन राष्ट्रपति भएपछि हालसम्म दुई नेताबीच भेट भएको छैन । ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो । यस्तै टेलिफोन संवादपछि बेइजिङले जारी गरेको वक्तव्यमा दुई नेताका धेरै विषयमा कुरा मिले पनि अमेरिकाले सम्बन्ध खराब बनाएको आरोप लगाएको छ । एजेन्सी


प्रतिक्रिया