काठमाडौँ — रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ । घटना विवरण अनुसार सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो । श्रीमान र छोरासँग बस्दै आएकी सावित्री मृत फेला परेपछि इलाका प्रहरी कार्यालय सालझण्डीले यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
मृतक सावित्रीको शरीरका विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएपछि उनको हत्या भएको ठहर गर्दै अनुसन्धान गर्दै जाँदा पैसा चोरी गरेको आरोपमा यमबहादुरले श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइदिने र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन् । मरासिनीले क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताए ।


प्रतिक्रिया