Breaking

स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने


काठमाडौँ — सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोरमैला फाल्न नदिने घोषणा गरेका छन् । जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेकाले यस्तो निर्णय गर्नुपरेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए । संघर्ष समितिको यो निर्णयसँगै काठमाडौंको फोहोरमैला समस्या फेरी बल्झिएको छ ।

सिसडोल डम्पिङ साइटमा पहिरो गएर र त्यसपछि बञ्चरेडाँडा डम्पिङ साइट जाने बाटो मर्मतका कारण तीन सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । यसबीच महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसक्दा पनि पहिरो र बाटो मर्मतका कारण कार्यान्वयन हुन सकेको छैन । महानगरले बुधबार मात्र फोहोरमैला संकलन सुरू गर्ने भन्दै सूचना जारी गरेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनशक्ति थप गरेर सडक निर्माण सम्पन्न गर्ने र बिहीबारदेखि फोहोर उठाउन सुरू गर्ने बताएका थिए ।

संघर्ष समितिका संयोजक ढुंगाना भने सरकारले पटकपटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएकाले आफूहरू नयाँ चरणको आन्दोलन सुरू गर्न बाध्य भएको बताए । जेठ २७ गते सम्झौता गर्दा सहरी विकास मन्त्रालयले अबदेखि फोहोरमैला समस्या सधैंका लागि समाधान गर्ने प्रतिबद्धता गरेको थियो । हामी निकै आशावादी भएका थियौं,’ ढुंगानाले भने, ‘हामीले उहाँहरूको विश्वास गरेर बञ्चरेडाँडा डम्पिङ साइट निर्माण पूरा नहुँदै फोहोरमैला फाल्न सहमति जनाएका थियौं । यसपालि फेरि सरकारले हामीलाई धोका दियो । सम्झौता गरेको डेढ महिना बितिसक्दा पनि कार्यान्वयन गर्न कुनै पहल गरेन ।’

उनले अगाडि भने, ‘काठमाडौं महानगरपालिकाले पनि आफूलाई सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न खाँचो नभएजस्तो व्यवहार गरेको छ । महानगरले कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने र काठमाडौंभित्रै कम्पोष्ट मल प्लान्ट बनाउने भनेको छ । हामी महानगरको यो मनसायको स्वागत गर्छौं । यदि उहाँहरू काठमाडौंभित्रै प्लान्ट राखेर आफैं फोहोर व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ भने बञ्चरेडाँडाको आवश्यकता किन पर्‍यो त्यही भएर हामीले भदौ १ देखि फोहोर फाल्न नदिने निर्णय गरेका हौं ।