काडमाडौँ — अश्लिलता फैलाएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ । एकभन्दा बढी हिट फिल्ममा काम गरिसकेका रणवीर सिंहले हालै आफ्नो सामाजिक सञ्जालमार्फत केही नग्न तस्बिर शेयर गरेका छन् । अमेरिकी पत्रिका ‘पेपर’ का लागि लिइएको उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले विभिन्न किसिमका प्रतिक्रिया जनाइरहेका छन् ।
यसै क्रममा यी तस्बिरहरूलाई आपत्तिजनक मान्दै दुई युवाले मुम्बईको चेम्बुरमा रणवीर सिंहविरुद्ध उजुरी दर्ता गरेका छन् । जसमध्ये एक जना महिला र अर्का एक एनजीओमा आवद्ध व्यक्ति छन् । उजुरीकर्ताका वकिल अखिलेश चौबेका अनुसार रणवीर सिंहको नग्न तस्बिरले महिलाको भावना र मर्यादामाथि चोट पुर्याएको आरोप लगाएका छन् ।
बलिउड स्टारहरूमा यस्ता घटना नयाँ होइनन् । मोडलिङ जगतबाट आएका मिलिन्द सोमन र पूनम पाण्डे जस्ता कलाकारले पनि यस्ता घटनाको सामना गरिरहेका छन् । नग्न फोटोग्राफी कसैको लागि रचनात्मक हिसाबले कला प्रस्तुत गर्ने तरिका हो भने कसै कसैले यसलाई अश्लील मान्छन् । त्यसैले बेलाबेलामा यो बहसको विषय बन्दै आएको छ ।


प्रतिक्रिया