Breaking

किन आउदै छन् अमेरिकी मन्त्री नेपाल ?


काठमाडौँ – अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बिहीबार) साँझ नेपाल आउँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

आज साँझ काठमाडौँ आइपुग्ने लुले भोलि शुक्रबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । देउवा जुलाई मध्यदेखि अन्तिम साता वासिङ्टन जानेगरी गृहकार्य भएपनि सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेसँगै भ्रमण तत्कालका लागि स्थगित भएको थियो। एसपीपीमा अघि नबढ्ने नेपालको निर्णयप्रति अमेरिका असन्तुष्ट बनेको बताइएको छ ।

अमेरिकी सेनाको सैन्य कार्यक्रम एसपीपीमा अघि नबढ्ने पाँच साताअघिको सरकारको निर्णयपछि नेपाल आउने लु पहिलो अमेरिकी अधिकारी हुनेछन् । उनको भ्रमणमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल हुनसक्ने अधिकारीहरुको भनाई छ ।