देश

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार संग्रहालयमा


काठमाडौँ — पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमशस्प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिए । समितिको अध्यक्षसमेत रहेका सचिव न्यौपानेले संग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाए । संग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गरेको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ। दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ ।


नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यी दुई सवारी आजदेखि नारायणहिटी दरबार संग्रहालय परिसरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखेको छ । बा अ २ नम्बरको गाडी त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरूङले जानकारी दिए। अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्ने जानकारी पनि समितिले दिएको छ ।

यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गरेको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उनले बताए । तीनै वटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङ्गरोगन गरिएको छ। यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरूङले बताए ।

विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई संग्रहालयका रूपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ ।