देश

जेठ १४ गतेदेखि बेपत्ता बालकको कपडा र अस्थिपन्जर भेटियो


काठमाडौँ — गत जेठ १४ गतेदेखि बेपत्ता भएका एक बालकको अस्थिपन्जर भेटिएको छ । जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको झण्डै २ महिनापछि अस्थिपञ्जर भेटिएको हो । गाइवस्तु चराउन जंगल गएका धरेन मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट बेपत्ता भएका थिए । उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो ।

बालक बेपत्ता भएपछि स्थानीय र प्रहरीले लामो समय खोजी गर्दा पनि भेटिएका थिएनन् । अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको मृतकका आफन्त उत्तमजंग सिंहले जानकारी दिए ।

घाँस काट्न गएका महिलाहहरूले बालकको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङगानाले बताए ।